नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुराना दलहरुलाई सिध्याउने षडयन्त्र जारी रहेको बताएका छन् । शुक्रबार अपानि–२ जारी गर्दै ओलीले लोकतन्त्रका लागि लामो संघर्ष गरेका दलहरुलाई सिध्याउने षडयन्त्र भइरहेको सन्देश पठाएका हुन् । ‘नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ,’ ओलीले अपानिमा लेखेका छन् ।
२३ र २४ भदौको घटनापछि प्रतिगमनतर्फ बढेको मुलुकलाई लयमा फर्काउने एमालेले प्रतिनिधि सभा पुनर्स्थापना एजेण्डा अगाडि बढाएको ओलीले अपानिमा लेखेका छन् । तर अरु दलहरुले साथ नदिएकाले चुनावमा भाग लिनु बाध्य भएको प्रष्टोक्ति ओलीले दिएका छन् ।
‘प्रतिगमनतर्फ अग्रसर भएको मुलुकलाई संविधा नर लोकतन्त्रको बाटोमा फर्काउनका लागि प्रतिनिधि सभाको पुनस्थाृपना अपरिहार्य छ भन्ने हाम्रो विश्लेषणलाई नेपालका अन्य लोकतान्त्रिक दलहरुले साथ नदिएका कारणले हाम्रो पार्टी समेत निर्वाचनमा जानु परेको थियो,’ ओलीले लेखेका छन् ।
अरु दलले साथ नदिदा भाग लिनुपरेको चुनावमा एमालेले जित्न नसकेको पनि ओलीले लेखेका छन् । ‘निर्वाचनको परिणाम हाम्रो पार्टीका पषमा रहेन नै । नेपालका प्रमुख लोकतान्त्रिक पार्टीहरुको पक्षमा समेत रहेन,’ ओलीको सन्देश छ ।
ओलीले निर्वाचनको प्रक्रिया समेत शंका गरेका छन् । यद्यपि त्यसबारे छुट्टै समीक्षा प्रतिवेदन ल्याइने पनि उनले लेखेका छन् । ‘… यो निर्वाचन अघिपछिको निर्वाचन जस्तो रहेन । यसको परिणाम पनि स्वभाविक रहेन’, अपानिमा लेखिएको छ, ‘यस सन्दर्भमा पार्टीले समीक्षा प्रतिवेदन मार्फत आफ्नो दृष्टिकोण बाहिर ल्याउने नै छ ।’
















