३५ वर्षमा नभएको काम ३५ मिनेटमा नखोजौँ: प्रधानमन्त्री शाह

Image

प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौँ उपत्यकाका खोला किनारका जोखिमपूर्ण क्षेत्रमा बसोबास गर्दै आएका नागरिकलाई उनीहरूको ज्यान र स्वास्थ्य सुरक्षाका लागि अन्यत्र स्थानान्तरण गरिएको बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा सांसद आरएन राईले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले खोला किनारमा बसोबास गर्दा बाढी, डुबान र स्वास्थ्यसम्बन्धी गम्भीर जोखिम रहेको बताए।

“खोला किनारमा बस्दा घर डुब्ने अवस्था थियो। वातावरण अस्वस्थकर थियो र फोहोरका कारण विभिन्न रोग फैलिने जोखिम थियो,” प्रधानमन्त्री शाहले भने, “सुकुम्बासीलाई ज्यान जोगाउन खोला किनारबाट हटाइएको हो।”

उनले भूमिहीन तथा वास्तविक सुकुम्बासीको समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै देशभर कुनै पनि जग्गा नभएका नागरिकलाई राज्यले जग्गा व्यवस्थापन गर्ने बताए। यसका लागि विभिन्न मन्त्रालयहरूबीच समन्वय गरेर काम भइरहेको उनको भनाइ थियो।

“सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने विषयमा दुई–तीन वटा मन्त्रालयले काम गरिरहेका छन्। यो दीर्घकालीन समस्या भएकाले समाधान पनि योजनाबद्ध रूपमा गर्नुपर्छ,” उनले भने, “३५ वर्षमा नभएको काम ३५ मिनेटमा खोज्न सकिँदैन।”

संसदमा उठेको सीमा विवादसम्बन्धी प्रश्नको जवाफमा प्रधानमन्त्री शाहले कालापानीलगायतका विषयमा नेपालले आफ्नो राष्ट्रिय हितअनुसार कूटनीतिक पहल जारी राखेको बताए। उनले सीमा सम्बन्धी विषयमा विभिन्न प्रतिवेदनहरू प्राप्त भएको पनि उल्लेख गरे।

त्यस्तै, सहकारी ठगी पीडितहरूको रकम फिर्ता प्रक्रियाबारे बोल्दै प्रधानमन्त्रीले सरकारले विशेष कोषमार्फत राहत उपलब्ध गराउने काम अघि बढाएको जानकारी दिए। सहकारी संस्थाबाट असुल गरिएको रकम नै पीडितलाई फिर्ता वितरण गरिएको उल्लेख गर्दै उनले हालसम्म करिब ३ करोड रुपैयाँ पीडितलाई उपलब्ध गराइएको बताए।