प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन्द्र शाहले दिएको सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर राजनीतिक विवाद चर्किएको छ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद रमेश मल्ल ले प्रधानमन्त्रीको उक्त भनाइ संसदको रेकर्डबाट हटाउन माग गरेका छन्।
आइतबारको प्रतिनिधिसभा बैठकमा सांसद आरएन राई ले सोधेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले नेपाल र भारतबीचको सीमा विषयमा टिप्पणी गर्दै “नेपालले पनि भारतको केही स्थानमा जग्गा मिचेको” भन्ने आशयको अभिव्यक्ति दिएका थिए।प्रधानमन्त्री शाहले उक्त जवाफमा सीमा विवाद कूटनीतिक रूपमा समाधान गर्नुपर्ने बताउँदै दुवै देशले एकअर्काको क्षेत्रमा अतिक्रमणका दाबी रहेको उल्लेख गरेका थिए। उनले यसलाई “साथीका रूपमा बसेर समाधान गर्ने विषय” भएको टिप्पणी समेत गरेका थिए।
तर प्रधानमन्त्रीको उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सांसद मल्लले राष्ट्रिय सार्वभौमसत्ता र अखण्डतासँग जोडिएको विषयमा यस्तो भनाइ गम्भीर भएको दाबी गरे।संसदमा बोल्दै मल्लले भने, “यो विषय सामान्य होइन। प्रधानमन्त्रीज्यूले रोष्ट्रमबाट दिएको अभिव्यक्ति संविधानले सुनिश्चित गरेको राष्ट्रिय अखण्डतासँग जोडिन्छ। त्यसैले यो अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाइनुपर्छ।”
उनले यस्तो संवेदनशील विषयमा प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिबाट आएको अभिव्यक्तिले गलत सन्देश जाने भन्दै तत्काल ‘करेक्सन’ गर्न माग गरेका छन्।प्रधानमन्त्रीको अभिव्यक्तिपछि संसदभित्र र बाहिर राजनीतिक बहस तीव्र बनेको छ। विपक्षी दलका नेताहरूले यसलाई कूटनीतिक संवेदनशीलतासँग जोडेर थप स्पष्टता आवश्यक रहेको बताएका छन्।
















