तत्कालीन गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुधन गुरुङमाथि छानबिन गर्न थप पाँच दिनको समय थपिएको छ । आज मंगलबारदेखि लागु हुनेगरी पाँच दिनको समय थप भएको छानबिन समितिका अध्यक्ष अच्युतमप्रसाद भण्डारीले बताए ।
समितिले गुरुङसँग बयानसमेत लिइसकेको छ । बयान लिनुअघि समितिले उनीमाथि लागेका आरोपबारे सम्बन्धित क्षेत्रसँग बुझ्नेदेखि सम्पत्ति विवरण केलाएर अध्ययन गरेको बताएको छ ।
यस्तै उनी विवादमा परेका विषयका प्रमाण पनि समितिले विभिन्न कार्यालयबाट संकलन गरिसकेको थियो। समितिले थप प्रमाण माग गर्दै पुनः पत्र पठाएको थियो। तर ती प्रमाण भने सबै संकलन भइसकेका छैनन्।
गृहमन्त्री हुँदा विवादमा परेका गुरुङमाथि छानबिन गर्न वैशाख २८ गते सरकारले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ता अच्युतमणि न्यौपाने सदस्य छन्।
समितिलाई गुरुङको सम्पत्ति विवाद, हिरासतमा रहेका व्यवसायी दीपक भट्ट संलग्न कम्पनीको शेयर, हदबन्दीभन्दा बढि जग्गा र विवादित जग्गाका विषयमा छानविन गरिरहेको छ।
एकपछि अर्को प्रश्नले घरिएपछि गुरुङले वैशाख ९ गते गृहमन्त्रीबाट राजीनामा दिएका थिए। चैत १३ गते गृहमन्त्री भएका गुरुङ सम्पत्ति विवरण सार्वजनिक भएसँगै विवादमा परेका थिए। उनीमाथि प्रश्न उठेका सबै विषयमा छानविन गर्न समितिलाई अधिकार दिइएको थियो।
















