अर्मादीमा ट्रक–मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

Image

पर्वतको कुश्मा नगरपालिका–२ अर्मादीमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।पोखराबाट मुस्ताङतर्फ जाँदै गरेको ग१क २९२९ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ध२प ३८०५ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको हो।

दुर्घटनामा मोटरसाइकल चालक जलजला गाउँपालिका–९ बनौ निवासी करिब ४० वर्षीय हिरा गर्बुजा र पछाडि सवार कुश्मा नगरपालिका–१ मालढुङ्गा निवासी अन्दाजी ३५ वर्षीय सुजन भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।प्रहरीका अनुसार ट्रकको ठक्करबाट गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि प्रदेश अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। उनीहरूको टाउको तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको बताइएको छ।

मृतक दुवै जनाको शव परीक्षणका लागि अस्पतालको शवगृहमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन पटेलले जानकारी दिए।दुर्घटनापछि ट्रक चालक तनहुँको भिमाद नगरपालिका–२ निवासी करिब ३५ वर्षीय मनोज थापालाई ट्रकसहित प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।