भारतपछि चीनतर्फ परराष्ट्रमन्त्री शिशिर खनाल, जुन १४ मा बेइजिङ जाने

Image

परराष्ट्रमन्त्री शिशिर खनाल अर्को साता चीन भ्रमणमा जाने भएका छन्। भारत भ्रमण सम्पन्न गरेर स्वदेश फर्किएको केही दिनमै मन्त्री खनालको चीन भ्रमण तय भएको स्रोतले जनाएको छ।

स्रोतका अनुसार मन्त्री खनाल जुन १४ (जेठ ३१ गते) मा चीन प्रस्थान गर्नेछन्। भ्रमणका क्रममा जुन १५ र १६ तारिखमा औपचारिक भेटघाटका कार्यक्रम तय भएका छन्। यस अवधिमा उनले चीनका विदेशमन्त्री वाङ यी तथा चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका प्रमुख लिउ हाइसिङसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ।भ्रमणका क्रममा मन्त्री खनालले चीनस्थित नेपाली समुदाय तथा नेपाली डायस्पोरासँग पनि अन्तर्क्रिया गर्नेछन्। उनी जुन १७ तारिखमा स्वदेश फर्किने कार्यतालिका रहेको स्रोतको भनाइ छ।

यद्यपि परराष्ट्र मन्त्रालयले भ्रमणको मिति, एजेन्डा तथा कार्यक्रमबारे औपचारिक जानकारी सार्वजनिक गरिसकेको छैन। मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भारत भ्रमणसँग सम्बन्धित विषयमा केन्द्रित रहँदा चीन भ्रमणको तयारीबारे विस्तृत छलफल हुन नसकेको बताए।‘चिनियाँ पक्षसँग निरन्तर सम्पर्कमा छौं। भ्रमणबारे थप तयारी र सहमति टुंगिएपछि औपचारिक जानकारी सार्वजनिक गर्छौं,’ उनले भने।

परराष्ट्रमन्त्री खनाल जेठ २२ गते भारत भ्रमणमा गएका थिए। तीनदिने भारत बसाइका क्रममा उनले भारतीय विदेशमन्त्री एस जयशंकर, सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेलगायत उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गरेका थिए।भारत भ्रमणका क्रममा मन्त्री खनालले नेपाली भूमि लिपुलेक क्षेत्र हुँदै भारत र चीनबीच सञ्चालनमा आएको व्यापारिक मार्गबारे नेपालको स्पष्ट अडान दोहोर्‍याएका थिए। कूटनीतिक स्रोतका अनुसार चीन भ्रमणका क्रममा पनि उक्त विषय छलफलको एजेन्डामा पर्न सक्ने सम्भावना छ।

यसका साथै नेपाल–चीन सम्बन्धका विविध आयाम, द्विपक्षीय सहकार्य, आर्थिक तथा पूर्वाधार साझेदारी, व्यापार, पर्यटन र क्षेत्रीय सहयोगका विषयमा समेत छलफल हुने तयारी रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।