विश्वकप हेर्न अमेरिका जाँदै गरेका एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राई विमानस्थलबाटै फर्काइए

Image

फिफा विश्वकप फुटबल हेर्न अमेरिका जाँदै गरेका अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई अध्यागमन अधिकारीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काएका छन् ।

उनीहरू मंगलबार बिहान मेक्सिको हुँदै अमेरिका जाने तयारीमा थिए । तर अध्यागमन विभागको कालोसूची (ब्ल्याकलिस्ट) मा नाम रहेकाले उनीहरूलाई विदेश जान अनुमति नदिइएको अध्यागमन स्रोतले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका एक अधिकारीका अनुसार नेम्वाङ र राईलाई विदेश यात्रा गर्न रोक लगाउने निर्णय कायम रहेकाले विमानस्थलबाटै फर्काइएको हो ।

एन्फाको आर्थिक गतिविधिसम्बन्धी छानबिनका क्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सिफारिसमा अध्यागमन विभागले गत वैशाखमा एन्फाका पदाधिकारीहरूलाई विदेश भ्रमणमा रोक लगाएको थियो ।

यसैबीच, फिफा विश्वकप २०२६ अवलोकनका लागि विदेश जान अनुमति माग्दै एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राई सोमबार राखेप पुगेका थिए । उनीहरूले विदेश यात्रा रोक्ने निर्णय फिर्ता लिन आग्रह गरे पनि राखेपले त्यसलाई अस्वीकार गरेको थियो ।

राखेपको निर्णय कायम रहेपछि विश्वकप अवलोकनका लागि तय गरिएको उनीहरूको विदेश यात्रा अध्यागमनमै रोकिएको हो ।