सेयर बजारमा सामान्य सुधार, नेप्से २.५७ अंकले बढ्यो

Image

साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ। नेप्से २.५७ अंकले उकालो लाग्दै २ हजार ७३६.१७ विन्दुमा पुगेको हो।बजारमा सामान्य वृद्धि देखिए पनि लगानीकर्ताबीच मिश्रित प्रतिक्रिया देखिएको छ। आज १२७ कम्पनीको सेयर मूल्य बढ्दा १३४ कम्पनीको मूल्य घटेको छ भने १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

बुधबार कुल ४ अर्ब २९ करोड ७४ लाख ६४ हजार ३२७ रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार अवधिमा ९२ लाख ८३ हजार कित्ता सेयर ४९ हजार २४८ पटक खरिदबिक्री भएका छन्।कारोबार रकमका आधारमा कालिन्चोक हाइड्रोपावर, सोपान फर्मास्युटिकल्स, एपोलो हाइड्रोपावर, सप्तकोशी विकास बैंक र बुंगल हाइड्रोपावर शीर्ष पाँच स्थानमा रहे।

समूहगत सूचकतर्फ लगानी, जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा, व्यापार तथा अन्य समूहका सूचकहरू घटेका छन्। यद्यपि बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत्, वित्त र उत्पादन तथा प्रशोधनलगायत अधिकांश समूहमा हरियाली देखिएको छ।बजारमा कारोबार रकम सन्तोषजनक रहे पनि परिसूचकमा सामान्य वृद्धि मात्र देखिएकाले लगानीकर्ताहरू अझै प्रतीक्षारत अवस्थामा रहेको विश्लेषकहरूको भनाइ छ। आगामी दिनमा बजारको दिशा ठूला लगानीकर्ता, मौद्रिक नीतिको प्रभाव तथा सूचीकृत कम्पनीहरूको वित्तीय प्रतिवेदनले निर्धारण गर्ने अपेक्षा गरिएको छ।