संयुक्त अरब इमिरेट्स (युएई)ले आफ्नो देशमा रोक्का रहेको इरानको अर्बौं डलर फुकुवा गर्ने तयारी गरेको छ । बैंकिङ प्रणालीमा रोक्का गरिएको इरानको अर्बौं डलर युएईले फुकुवा गर्न लागेको भनेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले चार जना उच्च स्रोतलाई उद्धृत गरेर समाचार लेखेको छ ।
युएईले इरानसँगको तनाव कम गर्न र अमेरिका-इरान युद्ध अन्त्यका लागि जारी वार्तालाई निष्कर्षमा पुर्याउन सहयोग गर्नका लागि कम्तिमा १० अर्ब डलर फुकुवा गर्ने तयारी गरेको हो । यसमध्ये ३ अर्ब डलर पहिल्यै फुकुवा गरिसकेको भनेर दुई उच्च स्रोतले बताएको रोयटर्सले लेखेको छ ।
यो तयारीबारे जानकार अर्का स्रोतले फुकुवा गर्ने रकम २० अर्ब डलरसम्म हुन सक्ने पनि बताएको छ । फुकुवा गर्ने सहमति युएईमाथि इरानले मिसाइल तथा ड्रोन आक्रमण नगर्ने सर्तमा भएको पनि ती उच्च अधिकारीले बताएका छन् । दुबईका बैंकहरूमा वर्षौंदेखि ठूलो मात्रामा इरानको निक्षेप रहेको मानिन्छ । अमेरिकी प्रतिबन्धका कारण तीमध्ये धेरै रकम रोक्का गरिएको छ ।
अमेरिका र इसराइलले फेब्रुअरी २८ मा इरानमा हमला गरेपछि इरानले युएईसहित मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डालाई लक्ष्य गरेर हमला गरेको थियो । इरानी हमलाका कारण दुबईका होटलहरू खाली भएका थिए। विदेशी कामदार तथा व्यावसायी पनि पनि युएई छाड्न बाध्य भएपछि दुबईको सुरक्षित व्यावसायिक छवि धमिलिएको थियो ।
इरानले पनि युद्ध अन्त्यका लागि अमेरिका र उसका सहयोगी मुलुकमा रोक्का गरिएको अवस्थामा रहेका आफ्नो सम्पत्ति फुकुवा गरिनुपर्ने सर्तलाई प्राथमिकताका साथ राख्दै आएको छ । युएईको अहिलेको तयारी दुवै पक्षले आफ्नो रेड लाइन ननाघी समाधान निकाल्ने माध्यम हुन सक्ने सम्झौताबारे जानकारी राख्ने एक स्रोतले रोयटर्सलाई बताएका छन् ।
यसबाट इरानले युद्ध क्षतिको क्षतिपूर्ति पाएको दाबी गर्न सक्नेछ भने अमेरिकाले आफूले कुनै रकम नतिरेको भन्न सक्नेछ । आबुधाबीले पनि आफ्नो सुरक्षा सुनिश्चित गर्दै दुबईको व्यापारिक हैसियत जोगाउन सक्नेछ ।
रकम खुला गरेबापत इरानले यूएईमाथिको मिसाइल तथा ड्रोन आक्रमण रोक्ने, गुप्तचर जानकारी आदान–प्रदान गर्ने र आर्थिक सहकार्य पुनर्निर्माण गर्ने सहमति जनाएको छ। रोयटर्सका अनुसार इरानले यस्तै व्यवस्था गर्न कम्तीमा अन्य दुई खाडी मुलुकसँग पनि सम्पर्क गरेको छ ।














