नेपाल विद्युत् प्राधिकरणको कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन पुनः सञ्चालनमा आएको छ । प्रसारण लाइन सञ्चालनमा आएसँगै कर्णाली प्रदेशमा देखिँदै आएको न्यून भोल्टेजको समस्या समाधान भई विद्युत् आपूर्ति थप भरपर्दो तथा गुणस्तरीय हुने अपेक्षा गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
वैशाख २३ गते राति आएको विनाशकारी हावाहुरीका कारण बाँके जिल्लाको बैजनाथ गाउँपालिका–१, चिसापानीस्थित बर्दिया राष्ट्रिय निकुञ्जअन्तर्गत पर्ने श्रीकृष्ण मध्यवर्ती सामुदायिक वन क्षेत्रमा रहेको प्रसारण लाइनको टावर नं. ४४ र ४५ मा क्षति पुगेपछि उक्त लाइनमार्फत हुने विद्युत् प्रवाह पूर्ण रूपमा अवरुद्ध भएको थियो ।
हावाहुरीका कारण प्रसारण लाइनको मार्गाधिकारभन्दा बाहिर रहेको करिब ३० मिटर लामो सालको ठूलो रुख ढलेर टावर तथा कन्डक्टरमा क्षति पुगेको थियो । क्षतिग्रस्त संरचनाको निर्माण तथा मर्मत कार्य सम्पन्न भएपछि २०८३ जेठ ३१ गते अपराह्नदेखि उक्त १३२ केभी प्रसारण लाइन पुनः सञ्चालनमा आएको प्राधिकरणले जनाएको छ ।
प्रसारण लाइन अवरुद्ध भएको अवधिमा कोहलपुर–सुर्खेत ३३ केभी प्रसारण लाइनमार्फत सुर्खेतसहित कर्णाली प्रदेशका विभिन्न जिल्लामा विद्युत् आपूर्ति व्यवस्थापन गरिएको थियो ।
प्राधिकरणका अनुसार, १३२ केभी प्रसारण लाइन सञ्चालनमा आएसँगै सुर्खेत, दैलेख, कालीकोट, जुम्ला, मुगु तथा रुकुम पश्चिमलगायत जिल्लामा राष्ट्रिय ग्रिडमार्फत थप गुणस्तरीय र भरपर्दो विद्युत् आपूर्ति हुने, भोल्टेजमा सुधार आउने तथा विद्युत् प्रणालीको विश्वसनीयता अभिवृद्धि हुने अपेक्षा गरिएको छ ।
यसैगरी, कर्णाली क्षेत्रमा उत्पादित विद्युत् राष्ट्रिय ग्रिडमा प्रभावकारी रूपमा आबद्ध हुने भएकाले सो क्षेत्रका साथै, बाँके र बर्दियाको विद्युत् सेवाको गुणस्तरमा समेत उल्लेखनीय सुधार हुने प्राधिकरणले जनाएको छ ।














