बाजुरामा यात्रुवाहक बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन्।बुढीगंगा नगरपालिका–१० स्थित रिठा बजार नजिक आज बिहान पवनदूत यातायातको सुपप्र ०२–००१ ख १३५५ नम्बरको बस दुर्घटनामा परेको हो।
प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवराज कार्कीका अनुसार दुर्घटनामा परेर बसमा सवार २४ जना घाइते भएका छन्। घाइतेमध्ये २३ जनालाई उपचारका लागि जिल्ला अस्पताल बाजुरा पठाइएको छ भने एक जनाको अछामस्थित बयलपाटा अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार दुर्घटनाग्रस्त बसमा ३५ जना यात्रु सवार थिए। प्रारम्भिक अनुसन्धानबाट बसको ब्रेक फेल भएपछि दुर्घटना भएको खुलेको छ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।















