जिल्ला प्रशासन कार्यालय रूपन्देहीद्वारा २७ हजार ४६२ नागरिकता वितरण

Image

रूपन्देही जिल्ला प्रशासन कार्यालयले विसं २०८२ साउन १ गतेदेखि २०८३ जेठ ३१ गतेसम्मको अवधिमा २७ हजार ४६२ जनालाई नेपाली नागरिकता वितरण गरेको छ ।

प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालका अनुसार उक्त अवधिमा सबैभन्दा बढी २५ हजार ९२७ जनाले वंशजका आधारमा नेपाली नागरिकता प्राप्त गरेका छन् । त्यसैगरी २९२ जनाले अङ्गीकृत, एक हजार १७६ जनाले वैवाहिक अङ्गीकृत र ६७ जनाले गैरआवासीय नेपाली (एनआरएन) नागरिकता प्राप्त गरेका हुन् । भारतसँग खुला सीमा जोडिएको तथा तीव्र जनसङ्ख्या वृद्धि भइरहेको जिल्ला भएकाले नागरिकतासम्बन्धी सेवाको चाप अन्य जिल्लाको तुलनामा रुपन्देहीमा बढी हुने गरेको प्रशासन कार्यालयले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी अर्यालले नागरिकता वितरण प्रक्रियालाई छिटो, सहज र पारदर्शी बनाउने प्रयास भइरहेको बताउँदै सेवाग्राहीलाई समयमै सेवा उपलब्ध गराउन प्रशासन प्रतिबद्ध रहेको जानकारी दिए । उनले नागरिकको कानुनी पहिचान र राज्यबाट प्राप्त हुने सेवा सुविधाको आधार नागरिकताको परिचयप्रत्र भएकाले वितरण प्रक्रियालाई कानुनसम्मत, व्यवस्थित र सेवामैत्री बनाइएको बताए ।

तथ्याङ्कअनुसार रूपन्देहीमा वंशजका आधारमा नागरिकता लिनेको सङ्ख्या अत्यधिक रहेको छ भने वैवाहिक अङ्गीकृत नागरिकताको सङ्ख्या पनि उल्लेख्य रहेको छ । प्रशासन कार्यालयले आगामी दिनमा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ ।