नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई प्रहरीले बाँकेको कोहलपुरबाट काठमाडौं ल्याइरहेको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा उनलाई सोमबार सुर्खेतबाट पक्राउ गरिएको थियो।
पक्राउपछि पौडेललाई सोमबार नै सुर्खेतबाट बाँके ल्याइएको थियो। प्रारम्भिक योजना अनुसार उनलाई राति नेपालगन्जस्थित जिल्ला प्रहरी कार्यालय बाँकेमा राख्ने तयारी भए पनि रातिको छोटो विश्रामपछि प्रहरीले उनलाई काठमाडौंतर्फ लगेको हो । उनलाई काठमाडौं ल्याइँदै छ। प्रहरीले उनको यात्रालाई गोप्य नराखी नियमित कानुनी प्रक्रिया अनुसार अगाडि बढाएको जनाएको छ।
काठमाडौं पुगेलगत्तै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको टोलीले थप अनुसन्धानका लागि म्याद थप गराउन पौडेललाई अदालतमा उपस्थित गराउने तयारी गरेको छ। उनलाई जिल्ला प्रहरी परिसर, ललितपुरको हिरासतमा राखेर मुद्दा अनुसन्धान प्रक्रिया अगाडि बढाइने सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागस्रोतले जनाएको छ ।














