नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनको तयारीस्वरूप नयाँ क्रियाशील सदस्यता वितरण कार्यलाई प्रभावकारी बनाउन ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ।
कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार नयाँ सदस्यता वितरण प्रक्रिया व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन केन्द्रीय प्रतिनिधिहरूलाई सम्बन्धित जिल्लामा परिचालन गरिएको हो। प्रतिनिधिहरूलाई असार ७ गतेदेखि २० गतेसम्म सम्बन्धित जिल्लामा उपस्थित भई सदस्यता वितरण, समन्वय तथा सहजीकरणको जिम्मेवारी दिइएको छ।
पार्टीले यसपटक नयाँ सदस्यता वितरणमा युवाको सहभागितालाई विशेष प्राथमिकता दिएको छ। केन्द्रीय प्रतिनिधिलाई दिइएको कार्यादेशमा ३५ वर्षमुनिका युवाको अधिकतम प्रतिनिधित्व सुनिश्चित गर्न विशेष ध्यान दिन निर्देशन गरिएको छ।
कार्यादेशमा भनिएको छ, “नयाँ क्रियाशील सदस्यता वितरण प्रक्रियामा विशेषगरी ३५ वर्षमुनिका युवाको अधिकतम प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यका साथ तोकिएका केन्द्रीय प्रतिनिधिले २०८३ असार ७ देखि २० गतेसम्म सम्बन्धित जिल्लामा उपस्थित भई समन्वय, सहजीकरण तथा जिम्मेवारी निर्वाह गर्नुहुनेछ।”
कांग्रेसले महाधिवेशन केन्द्रित संगठन विस्तार, सदस्यता अद्यावधिक तथा नयाँ सदस्य भित्र्याउने अभियानलाई तीव्रता दिँदै आएको छ। पार्टी नेतृत्वले नयाँ पुस्ताको सहभागिता बढाएर संगठनलाई थप सशक्त र गतिशील बनाउने लक्ष्य लिएको जनाएको छ।















