राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका लागि भएको निर्वाचनमा झन्डै एक तिहाइ प्रतिनिधि मतदानमा अनुपस्थित भएका छन्।रास्वपाका अनुसार कूल ४ हजार ३११ प्रतिनिधिमध्ये २ हजार ९५९ जनाले मात्र मतदानमा भाग लिएका छन् भने १ हजार ३५२ प्रतिनिधि मतदान प्रक्रियामा सहभागी भएनन्।
पार्टीले ९९ केन्द्रीय सदस्य चयनका लागि ८० वटा विद्युतीय मतदान मेसिन प्रयोग गरेर निर्वाचन सम्पन्न गरेको थियो। उक्त पदका लागि ३८४ जनाले उम्मेदवारी दिएका थिए।महाधिवेशनको कार्यतालिका लम्बिँदै गएपछि धेरै प्रतिनिधि आ–आफ्नो गन्तव्यतर्फ फर्किसकेकाले मतदानमा सहभागी हुने प्रतिनिधिको संख्या अपेक्षाभन्दा कम भएको नेताहरूले बताएका छन्।
अब केन्द्रीय सदस्य पदको मतगणना सम्पन्न भएपछि दोस्रो चरणअन्तर्गत पदाधिकारी चयनका लागि निर्वाचन प्रक्रिया सुरु हुनेछ। रास्वपाको विधानअनुसार पदाधिकारी पदमा उम्मेदवारी दिन केन्द्रीय सदस्य (निर्वाचित वा मनोनीत) हुन अनिवार्य व्यवस्था रहेको छ।रास्वपाका सभापति पदमा रवि लामिछाने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्। अब खुला उपसभापति दुई जना, एक महिला उपसभापति, महामन्त्री, दुई खुला सहमहामन्त्री तथा दुई महिला सहमहामन्त्री पदका लागि मतदान हुने नेता मनिष झाले जानकारी दिए।
असार ९ गतेभित्र सम्पन्न गर्ने लक्ष्यसहित असार ७ गते सुरु भएको महाधिवेशन पाँचौँ दिनसम्म पनि जारी रहेको छ। नेतृत्व चयनको प्रक्रिया लम्बिँदा महाधिवेशनको अवधि समेत थपिएको छ।















