खामेनीको हत्याको बदला लिने इरानको घोषणा, राष्ट्रिय सुरक्षा परिषद्को चेतावनी

Image

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले सर्वोच्च नेता आयतुल्लाह अली खामेनीको हत्याको बदला अवश्य लिइने घोषणा गरेको छ।

परिषद्का सचिव मोहम्मद बाकर जोलकद्रद्वारा जारी सन्देशमा खामेनीको हत्या गर्ने जिम्मेवार पक्षलाई कुनै पनि हालतमा नछाडिने र त्यसको उचित जवाफ दिइने उल्लेख गरिएको छ।

बीबीसीका अनुसार इरानी सञ्चारमाध्यमहरूले मोहम्मद बाकरको हस्ताक्षर रहेको उक्त सन्देश सार्वजनिक गरेका छन्। सो सन्देश सामाजिक सञ्जाल ‘एक्स’मार्फत पनि प्रकाशित गरिएको बताइएको छ।

समाचारअनुसार, इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीको २८ फेब्रुअरी २०२६ मा अमेरिकी आक्रमणमा मृत्यु भएको थियो। इरानले उक्त आक्रमणलाई अमेरिका र इजरायलद्वारा गरिएको संयुक्त सैन्य आक्रमणका रूपमा व्याख्या गरेको छ। आक्रमणमा खामेनीसँगै इरानका अन्य उच्च अधिकारी तथा उनका परिवारका केही सदस्यसमेत मारिएका थिए।

बीबीसीका अनुसार खामेनीको अन्तिम संस्कार समारोह जुलाई ४ देखि ८ सम्म तेहरान, कोम र मशहदमा आयोजना गरिनेछ। साथै, इराकका बगदाद, काजमिन, कर्बला र नजफमा पनि शोकसभा आयोजना गरिने कार्यक्रम रहेको जनाइएको छ।

यस घटनापछि मध्यपूर्वमा सुरक्षा अवस्था थप संवेदनशील बन्न सक्ने आकलन गरिएको छ।