विष्णु पौडेलविरुद्ध थप ६ दिन म्याद, सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान जारी

Image

सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलविरुद्ध विशेष अदालतले थप ६ दिन म्याद थप गरेको छ।

विशेष अदालतका न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले अनुसन्धानका लागि पौडेललाई तेस्रोपटक म्याद थप गर्ने आदेश दिएको हो।

पौडेल असार ८ गते सुर्खेतबाट पक्राउ परेका थिए। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले शंकास्पद सम्पत्तिको स्रोत तथा उनले गरेको सेयर कारोबारसम्बन्धी अनुसन्धानका क्रममा उनलाई पक्राउ गरेको जनाएको छ।

पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेललाई यसअघि पनि विशेष अदालतले दुई पटक अनुसन्धानका लागि म्याद थप गरिसकेको थियो।

सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान जारी रहेको र त्यसको निष्कर्ष आउन बाँकी रहेको सम्बन्धित निकायले जनाएको छ।