इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सले आफ्नो नौसैनिक र एयरोस्पेस बलले संयुक्त रूपमा मिसाइल र ड्रोन आक्रमण सञ्चालन गर्दै अमेरिकी सैन्य सुविधासँग सम्बन्धित ८५ वटा महत्वपूर्ण स्थानलाई निशाना बनाएको दाबी गरेको छ।
आईआरजीसीका अनुसार आक्रमणमा बहराइनस्थित अमेरिकी पाँचौं बेडाको मुख्यालय तथा कुवेतको अली अल–सालेम एयर बेस समेत लक्षित गरिएको छ।
आईआरजीसीले उक्त कारबाहीलाई अमेरिकाले युद्धविराम तथा इस्लामाबाद सम्झौता उल्लंघन गरेपछि दिइएको “प्रारम्भिक जवाफी प्रतिक्रिया” भएको जनाएको छ। उसका अनुसार अमेरिकाले यसअघि हर्मोजगान र माहशहरका तटीय क्षेत्रका सैन्य तथा गैरसैन्य संरचनामाथि हवाई आक्रमण गरेको थियो।
यसैबीच, आईआरजीसीले अमेरिकी आक्रमणलाई इरानका दिवंगत सर्वोच्च नेताको अन्त्येष्टि समारोहसँग पनि जोडेको छ। विज्ञप्तिमा अमेरिकाले उक्त “ऐतिहासिक कार्यक्रमको प्रभाव ओझेलमा पार्ने उद्देश्य” ले आक्रमण गरेको आरोप लगाइएको छ।
घटनाबारे अमेरिका वा बहराइन तथा कुवेतका अधिकारीहरूले तत्काल कुनै आधिकारिक प्रतिक्रिया सार्वजनिक गरेका छैनन्। स्वतन्त्र स्रोतबाट आईआरजीसीका दाबीहरूको पुष्टि हुन बाँकी छ।















