काठमाडौंको बौद्धगेट नजिकै एक युवतीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाउँदै आत्मदाहको प्रयास गरेकी छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार सोमबार दिउँसो करिब पौने ३ बजे काठमाडौं महानगरपालिका–६ बौद्धगेट नजिक उक्त घटना भएको हो।
आत्मदाहको प्रयास गर्ने युवती काभ्रे घर भई हाल गोकर्णेश्वर नगरपालिका–माकलबारी बस्ने २७ वर्षीया सालु गुरुङ रहेको प्रहरीले जनाएको छ। उनी श्रीमानसँग मिलेर खाजा पसल सञ्चालन गर्दै आएकी थिइन्।
प्रहरीका अनुसार श्रीमान–श्रीमतीबीच विवाद भएपछि सालु गुरुङ खाजा पसल पछाडिको पार्किङ क्षेत्रमा पुगेर शरीरमा पेट्रोल छर्की आगो लगाएकी थिइन्। घटनास्थलमा पुगेका श्रीमानले तत्काल आगो निभाएका थिए।
घाइते गुरुङलाई प्रारम्भिक उपचारका लागि साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पताल लगिएको थियो। त्यसपछि थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ।
एसपी भट्टराईका अनुसार उनको छाती, अनुहार र दुवै हातमा गम्भीर जलन भएको छ भने शरीरको करिब ५० प्रतिशत भाग आगोले जलेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।















