सुनसरीको कप्तानगन्ज घटनामा घाइते भएका युवकको काठमाडौँमा उपचारका क्रममा मृत्यु भएको छ। देवानगन्ज गाउँपालिका–३, कप्तानगन्जमा सुरक्षाकर्मीको गोली लागेर २१ वर्षीय रवीन्द्रकुमार मेहतालाई उपचारका लागि काठमाडौँ ल्याइएको थियो। उनको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलबार मृत्यु भएको हो ।
यसअघि उनको विराटनगरस्थित विराट नर्सिङ होममा उपचार गरिएको थियो। विराटनगरमा उपचार हुन नसकेपछि साउन १४ गते थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको थियो। साउन ९ गते कप्तानगन्जमा दुई समूहबीच विवाद भएको थियो। विवाद बढ्दै झाँदा झडपको स्थिति आएको थियो।
स्थिति नियन्त्रण लिने क्रममा साउन १० गते सुरक्षाकर्मीले गोली चलाएका थिए। गोली लागेर स्थानीय २१ वर्षीय ओमप्रकाश मेहताको घटनास्थलमै मृत्यु भएको थियो। गोली लागेर केही स्थानीय घाइते भएका थिए।
यसअघि अर्का घाइते स्थानीय २२ वर्षीय जयप्रकाश मेहता बिहीबार विराटनगरमा उपचारका क्रममा मृत्यु भएका थियो। दोस्रो घाइते रवीन्द्रको मंगलबार मृत्यु भएको हो। योसँगै कप्तानगन्ज घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ।
यस घटनामा घाइते भएका सात जनाको उपचार चलिरहेको छ। विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेका उनीहरू सबै देवानगन्ज गाउँपालिकाकै हुन्।
त्यस्तै सिरहाको गोजबजारमा कप्तानगन्ज घटनाको बिरोधमा भएको प्रदर्शनका क्रममा गोली लागेर १५ वर्षिय गणेश यादवको मृत्यु भएको थिए ।














