रवीन्द्र मेहताको मृत्युपछि गृहमन्त्री र पीडित परिवारबीच वार्ता सुरू

Image

सुनसरीको देवानगञ्ज घटनामा घाइते भई उपचाररत रवीन्द्र मेहताको मृत्यु भएपछि गृहमन्त्री सुधन गुरुङ र मृतकका परिवारबीच वार्ता सुरू भएको छ।

गृहमन्त्रीको सचिवालयका अनुसार महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा केहीबेरअघि वार्ता सुरू भएको हो।

साउन १० गते राति कोशी प्रदेशको सुनसरीस्थित देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा घाइते भएका २२ वर्षीय रवीन्द्र मेहताको उपचारका क्रममा मंगलबार निधन भएको थियो।

यसअघि गृहमन्त्री गुरुङले गृह मन्त्रालयमा दुवै समुदायका प्रतिनिधि तथा नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए। उक्त छलफलमा पछिल्लो समय मुलुकका विभिन्न क्षेत्रमा देखिएको तनाव, विवाद, शान्ति–सुरक्षा तथा आपसी सद्भाव कायम गर्ने विषयमा विचारविमर्श भएको जनाइएको छ।

रवीन्द्र मेहताको मृत्युपछि शिक्षण अस्पताल परिसरमा पीडित पक्षले विभिन्न माग राख्दै आन्दोलन जारी राखेका छन्। सरकारले घटनाको समाधान, शान्ति स्थापना तथा दुवै पक्षबीच संवादमार्फत सहमति खोज्ने प्रयासलाई तीव्र बनाएको जनाएको छ।