पाल्पाको तानसेन नगरपालिका–४ स्थित मिलेनियम सेकेण्डरी स्कुलको चमेना गृहमा ग्यासको पाइप फुस्किएर भएको आगलागीमा गम्भीर घाइते भएकी ८ वर्षीया साजुदा बानुको उपचारका क्रममा मृत्यु भएको छ । काठमाडौंस्थित कीर्तिपुर बर्न अस्पतालमा बुधबार उनको निधन भएको हो ।
एलकेजीमा अध्ययनरत बानु गत साउन ७ गते खाजा खाने क्रममा भएको आगलागीमा करिब ३५ प्रतिशत शरीर जलेर गम्भीर घाइते भएकी थिइन् ।
तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा प्राथमिक उपचारपछि उनलाई हेलिकोप्टरमार्फत काठमाडौं लगिएको थियो । मंगलबारदेखि भेन्टिलेटरमा राखेर उपचार गरिए पनि उनको ज्यान बचाउन नसकिएको पारिवारिक स्रोतले जनाएको छ ।
आगलागीमा घाइते भएका अन्य दुई विद्यार्थीको अवस्था भने सामान्य छ ।















