अबदेखि प्रतिनिधि सभा बैठकमा सांसदहरूले कालो चस्मा लगाउन नपाउने भएका छन्। सभामुख डोलप्रसाद अर्याल (डीपी) ले संसद बैठकको मर्यादा र अनुशासनलाई ध्यानमा राख्दै यस्तो व्यवस्था लागू गर्न निर्देशन दिएका हुन्।
बुधबार बसेको कार्यव्यवस्था परामर्श समिति बैठकमा सभामुख अर्यालले संसद बैठकमा सांसदहरूले कालो चस्मा लगाउने विषयमा बारम्बार प्रश्न उठ्ने गरेको उल्लेख गर्दै अबदेखि बैठकमा कालो चस्मा लगाएर उपस्थित हुन नमिल्ने स्पष्ट पारे। उनले प्रमुख सचेतक तथा सचेतकहरूलाई आफ्नो-आफ्नो दलका सांसदसम्म यो जानकारी समयमै पुर्याउन पनि आग्रह गरेका छन्।
संसद बैठकमा प्रधानमन्त्री बालेन शाह, गृहमन्त्री सुधन गुरुङ, पूर्वाधार मन्त्री सुनिल लम्साल तथा सांसदहरू खगेन्द्र सुनार, ज्ञानेन्द्र शाही र राजेन्द्र राईलगायत कालो चस्मा लगाएर सहभागी हुने गरेका थिए।
प्रतिनिधि सभा नियमावलीमा सांसदहरूको पोशाक तथा प्रतीक चिह्न सम्बन्धी व्यवस्था रहेको छ। नियमावलीअनुसार सांसदहरूको पोशाक कार्यव्यवस्था परामर्श समितिको परामर्शमा सभामुखले तोकेबमोजिम हुनेछ। साथै, पोशाक निर्धारण गर्दा औपचारिकता, मौलिक संस्कृति, परम्परा, पहिचान तथा मर्यादित भेषभूषालाई विशेष ध्यान दिनुपर्ने व्यवस्था रहेको छ।














