क्यानडा पठाइदिने भन्दै ३७ लाख रुपैयाँ ठगी गरेको आरोपमा काभ्रेपलाञ्चोकका एक व्यक्ति काठमाडौंमा पक्राउ परेका छन्।
पक्राउ पर्नेमा मण्डनदेउपुर नगरपालिका–६ का ४२ वर्षीय अच्युत दुलाल रहेका छन्। वैदेशिक रोजगार विभागबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरीले उनलाई साउन २४ गते काठमाडौंको गोकर्णेश्वरबाट नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार दुलालले क्यानडामा रोजगारी दिलाइदिने प्रलोभन देखाउँदै एक व्यक्तिबाट ३७ लाख रुपैयाँ लिएको आरोप छ। रकम लिएपछि वैदेशिक रोजगारीमा नपठाई ठगी गरेको उजुरीका आधारमा विभागले पक्राउ पुर्जी जारी गरेको थियो।
पक्राउ परेका दुलाललाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभागमा बुझाइएको प्रहरीले जनाएको छ।














