प्रतिनिधिसभाको बैठकमा सांसदहरूको उपस्थिति पातलिन थालेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरूको हाजिरी जाँच गरी विश्लेषण गर्ने भएको छ।
रास्वपा संसदीय दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले संसद् सचिवालयबाट सांसदहरूको हाजिरी विवरण झिकाएर विश्लेषण गरी प्रतिवेदन तयार गर्न सचेतक प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई निर्देशन दिएका छन्।
बुर्लाकोटीका अनुसार पछिल्लो समय संसद् बैठकमा अपेक्षित उपस्थिति नदेखिएको मात्र होइन, बैठक सुरु हुँदा उपस्थित हुने तर बीचमै संसद् छाडेर जाने क्रमसमेत बढेको छ।
उनले यसबाट संसद्को गरिमा कमजोर हुँदै जाने अवस्था देखिएको भन्दै असार ३० र ३१ तथा साउन १४, १८ र २२ गतेको सांसदहरूको हाजिरी विशेष रूपमा विश्लेषण गर्न लागिएको बताएका छन्।
संसद् सचिवालयबाट सम्बन्धित मितिको हाजिरी विवरण झिकाएर अध्ययन गरी सात दिनभित्र प्रतिवेदन पेस गर्न सचेतकद्वयलाई जिम्मेवारी दिइएको रास्वपाले जनाएको छ।














