हुथी विद्रोहीद्वारा क्षेप्यास्त्र प्रहार, चारजनाको मृत्यु

Image

यमनका हुथी विद्रोहीले क्षेप्यास्त्र प्रहार गर्दा चारजनाको मृत्यु भएको छ । विद्रोहीहरूले बाब अल–मन्देब जलमार्गमा साउदी अरेबियाको एउटा जहाजमा क्षेप्यास्त्र प्रहार गर्दा चारजना चालक दलका सदस्यको मृत्यु भएको हो । मृत्यु हुनेमा तीनजना पाकिस्तानी र एकजना इन्डोनेसियाली नागरिक रहेका छन् ।

तन्जानियाको झण्डा बोकेको उक्त जहाजको नाम ‘तिहामा’ रहेको छ । यो ओमानको सलालाह बन्दरगाहबाट जिबुटीतर्फ जाँदै थियो ।

हुथी विद्रोहीहरूले जुलाई २० देखि साउदी जहाजहरूमाथि नाकाबन्दी सुरु गरेका थिए । त्यसयता उनीहरूले लाल सागरमा साउदी अरेबियासँग जोडिएका आठवटा जहाजलाई निशाना बनाइसकेका छन् । तीमध्ये एनसिलिया, लेला, गजल र वफा  जहाज छन् ।

होर्मुज जलमार्ग बन्द हुँदा समुद्री व्यापार पहिले नै दबाबमा परेको छ । बाब अल–मन्देबमा पनि जहाजमाथि आक्रमण बढेपछि सिपिङ कम्पनीहरूको समस्या थपिएको छ ।

हुथी विद्रोहीहरूले लाल सागर हुँदै आवतजावत गर्ने जहाजहरूलाई निरन्तर निशाना बनाउँदै आएका छन् । समाचार संस्था रोयटर्सका अनुसार साउदी जहाजमाथि हुथीहरूले गरेको आक्रमणमा मृत्यु भएको यो पहिलो घटना हो ।

हुथीहरूको आक्रमणको असर साउदी अरेबियाको तेल निर्यातमा समेत परेको छ । समुद्रमा जहाजको आवतजावत घटेको छ ।

सुरक्षाको जोखिमका कारण धेरै जहाजले लाल सागर र स्वेज नहरको मार्ग प्रयोग गर्नबाट बचिरहेका छन् ।