रुसी अधिकारीहरूले रातको समयमा मस्को क्षेत्रलाई लक्षित गरी ६२० भन्दा बढी ड्रोन आक्रमण भएको दाबी गरेका छन् । रुसी राजधानीमाथि युक्रेनले गरेको यो सबैभन्दा ठूलो आक्रमणमध्ये एक भएको बताइएको छ ।
मस्कोका मेयर सर्गेई सोब्यानिनले रुसी रक्षा प्रणालीले सोमबार साँझदेखि मंगलबार बिहान ५ बजेसम्म राजधानी क्षेत्रतर्फ आएका १८० वटा ड्रोन खसालेको बताएका छन् । रुसको सरकारी समाचार एजेन्सी तासले यसलाई पछिल्ला दुई वर्षमा मस्कोमाथि भएको सबैभन्दा ठूलो ड्रोन आक्रमणका रूपमा चित्रण गरेको छ ।
मस्को क्षेत्रका गभर्नर एन्ड्रे भोरोब्योभले ड्रोन आक्रमणमा एक १० वर्षीया बालिकासहित तीनजना घाइते भएका टेलिग्राममार्फत जानकारी दिएका छन् । उनले पाभलोभस्की पोसाद जिल्लामा सबैभन्दा गम्भीर क्षति भएको र त्यहाँ एउटा घर जलेर नष्ट भएको बताए । बोगोरोद्स्की जिल्लामा पनि अन्य केही घर तथा एउटा पाहुनाघरमा क्षति पुगेको उनले बताए ।
मंगलबार भएको ड्रोन आक्रमणमा मस्कोको पूर्वमा रहेको ई–कमर्स कम्पनी ‘वाइल्डबेरीज’ को एउटा गोदाममा क्षति पुगेको बताइएको छ । युक्रेनले रुसी ड्रोन निर्माणका लागि आवश्यक पार्टपुर्जा उपलब्ध गराएको आरोप लगाउँदै पछिल्ला हप्ताहरूमा वाइल्डबेरीजका धेरै गोदाममा प्रहार गर्दै आएको छ ।
यसैबीच, रुसले पनि युक्रेनमा ड्रोन आक्रमण गरेको छ । युक्रेनी वायुसेनाले रातको समयमा भएका १४७ वटा ड्रोन आक्रमणमध्ये १११ वटा खसालेको वा निष्प्रभावी पारेको जनाएको छ ।
खार्किभ क्षेत्रका गभर्नर ओलेह सिन्येहुबोभले इज्युम सहरमा रातको समयमा भएको रुसी आक्रमणमा एक नौ वर्षीय बालकसहित पाँचजना घाइते भएको बताएका छन् । किभ क्षेत्रको ब्रोभारी सहरमा पनि रुसी ड्रोनका कारण आगलागी भएको र कार्यालय भवन तथा गोदाम लगायतका संरचनामा क्षति पुगेको मेयर इहोर सापोज्कोले बताएका छन् ।














