जापानिज इन्सेफ्‌लाइटिस : सप्तरी र कैलालीमा चार जनाको मृत्यु

Image

 सप्तरीमा जापानिज इन्सेफ्लाइटिसका कारण दुई जनाको मृत्यु भएको छ । 

तिलाठी कोइलाडी गाउँपालिका(१ का ७४ वर्षीय सत्यनारायण यादव र राजगढ गाउँपालिका-३ का १४ वर्षीय शिवकुमार रामको जापानिज इन्सेफ्लाइटिसका कारण मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत शतिश यादवले जानकारी दिए।

दुवै जनाको गत साउन २१ गते उपचारका क्रममा मृत्यु भएको थियो । यादवको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा र रामको गोल्डेन हस्पिटल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको बताउँदै स्वास्थ्य अधिकृत यादवले जापानिज इन्सेफ्लाइटिसबाट जिल्लामा अन्य तीन जना बिरामी भएका जानकारी दिए । बिरामीहरू उपचारपछि घर फर्किसकेका जनाउँदै उहाँले तीमध्ये दुई जनाको मृत्यु भएको उल्लेख गरे।

स्वास्थ्य अधिकृत यादवले अहिलेको समयमा यो रोग लाग्न नदिन लामखुट्टेको टोकाइबाट बच्न आवश्यक रहेकामा जोड दिए । उनले साँझपख घर बाहिर ननिस्कने, खेतबारीमा काम गर्दा लामो बाउला भएका लुगा लगाउने, सुत्ने बेला झुलको प्रयोग गर्नेलगायत गरेमा लामखुट्टेको टोकाइबाट बच्न सकिने धारणा राखे। 

यसैबीच, कैलालीको घोडाघोडी नगरपालिकामा पनि जापनिज इन्सेफ्लाइटिसको सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको छ । उपचारका क्रममा घोडाघोडी-४ र ९ का दुई जनाको मृत्यु भएको नगरपालिकाका सिनियर अहेब मानबहादुर बोहराले जानकारी दिए । उनका अनुसार मृत्यु हुनेमा ३४ र ७० वर्षीया महिला छन् ।

सिनियर अहेब बोहराका अनुसार घोडाघोडीमा पछिल्लो तीन वर्षयता जापनिज इन्सेफलाइटिसका बिरामी देखिन थालेका हुन् । अघिल्लो आर्थिक वर्षमा वडा नं ४ का एक जनामा सङ्क्रमण देखिए पनि उपचारपछि उनी निको भएका थिए । आर्थिक वर्ष २०८१-८२ मा वडा नं ५ र ६ का दुई जनामा सङ्क्रमण देखिएको थियो भने यस वर्ष सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको हो ।

‘जापानिज इन्सेफ्लाइटिस क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने रोग हो । सङ्क्रमित सुँगुर वा बङ्गुरलाई टोकेको लामखुट्टेले मानिसलाई टोक्दा भाइरस सर्न सक्ने भएकाले लामखुट्टेको टोकाइबाट बच्ने र घर वरिपरि सरसफाइमा विशेष ध्यान दिनुपर्दछ’, सिनियर अहेब बोहरले भने। 

सङ्क्रमण देखिएपछि घोडाघोडी नगरपालिकाको स्वास्थ्य शाखाले आज आकस्मिक बैठक बोलाएर रोगको अवस्था र रोकथामका उपायबारे छलफल गरेको छ । नगरपालिकाका १३ वटै स्वास्थ्य संस्थामार्फत जापानिज इन्सेफ्लाइटिसको जोखिम, लक्षण र बच्ने उपायबारे समुदायस्तरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने बोहराले बताए। 

उनका अनुसार नगरपालिकाका ८४ वटा आमा समूहलाई पनि परिचालन गरी रोगका लक्षण, रोकथामका उपाय र समयमा उपचारका लागि स्वास्थ्य संस्था पुग्नुपर्ने विषयमा जानकारी गराइनेछ ।

अत्यधिक ज्वरो आउने, बेहोस हुने लगायतका लक्षण देखिएमा बिरामीलाई तत्काल स्वास्थ्य संस्थामा पुर्‍याउन बोहराले आग्रह गरे । उनले लामखुट्टेको टोकाइबाट जोगिन झूल प्रयोग गर्ने, घर वरिपरि पानी जम्न नदिने तथा सरसफाइमा ध्यान दिनसमेत आग्रह गरे