कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले (गलत निर्णय र भ्रष्टाचार छुट्टिनुपर्ने बताएकी छन् । बिहीबार प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै दुवैमा एउटै प्रकृतिको व्यवहार गर्न नहुने बताइन् । “गलत निर्णय र भ्रष्टाचार छुट्टिनुपर्यो । दुवैमा एउटै प्रकृतिको व्यवहार गर्नुभएन,” उनले भनिन् ।
कर्मचारी हस्ताक्षर गर्ने डराउँदा सरकारले कामै गर्न नसक्ने अवस्था बनेको उनले उल्लेख गरिन् । उनले अनुसन्धानको टाइमलाइन तोक्नुपर्नेमा जोड दिइन् । “अनुसन्धानको टाइमलाइन तोक्नुपर्यो । वर्षौंसम्म एउटै अनुसन्धानका नाममा दुःख दिनु भएन,” उनको भनाइ छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कामकारबाही लगायतका विषयमा भएको छलफलमा मन्त्री गौतमले अख्तियारको काम दन्डात्मक नभई रोकथाममा आधारित हुनुपर्नेमा जोड दिइन् । भ्रष्टाचारजन्य बदनीयत र प्रशासनिक गल्ती छुट्याउने प्रक्रिया स्पष्ट हुनुपर्ने उनको भनाइ छ ।
“आयोगले तयार गरेका मुद्दाहरूमा असफलता बढी देखिनुले अनुसन्धानमा समस्या छ भने देखाउँछ, होइन भने अदालतमा समस्या होला । कहाँ समस्या हो भन्ने स्पष्ट देखिनुपर्यो,” मन्त्री गौतमले भनिन् ।
अख्तियारले निष्पक्ष अनुसन्धान गर्छ र प्रमाणका आधारमा मात्रै कारबाही हुन्छ भन्ने कुरा विश्वास हुनुपर्ने बताइन् । बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीहरू उपस्थित छन् ।















