जाजरकोटमा बाढीले बगाउँदा २ जना बेपत्ता, १० वटा पानीघट्ट पनि बग्यो

Image

जाजरकोटमा बाढीले बगाउँदा दुई जना बेपत्ता भएका छन्। 

जुनीचाँदे गाउँपालिका–६ का ३९ वर्षीया रचना थापा र ६४ वर्षीय देवबहादुर सिंह बाढीमा बेपत्ता भएका प्रहरीले जनाएको छ।  उनीहरूलाई बुधबार साँझ डोग्रा खोलामा आएको बाढीले बगाएको हो। 

गोठबाट घर फर्कने क्रममा उनीहरूलाई बाढीले बगाएको आफन्तले बताएका छन्। उनीहरूको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ। डोग्राखोलाको बाढीले १० वटाजति पानीघट्टसमेत बगाएको छ।

बेपत्ताको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासहित तीनवटै सुरक्षा निकाय परिचालन गरिए पनि फेला पार्न नसकिएको प्रहरीको भनाई छ।