नेपालका लागि संयुक्त अरब इमिरेट्स (यूएई)का राजदूत अब्दुल्ला सइद मुबारक जारवान अल शामसीले सोमबार युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग शिष्टाचार भेट गरेका छन् ।
भेटमा मन्त्री यादवले नेपाली श्रमिक यूएई जाँदा लिनुपर्ने प्रहरी चारित्रिक प्रमाणपत्रसम्बन्धी दोहोरो प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्थालाई सरल बनाउँदै श्रमिकलाई सहज हुने व्यवस्था गर्न अनुरोध गरेका थिए ।
यस विषयमा राजदूत शामसीले यूएई सरकारसँग निरन्तर छलफल र समन्वय भइरहेको जानकारी गराउँदै आवश्यक पहल जारी रहने आश्वासन दिएका थिए ।
नेपाल र यूएईबीच भएका द्विपक्षीय श्रमसम्बन्धी समझदारी तथा सहमतिहरूको प्रभावकारी कार्यान्वयनका लागि संयुक्त कार्य समूहको बैठक शीघ्र आयोजना गर्ने विषयमा समेत भेटमा सहमति बनेको श्रममन्त्रीको सचिवालयले जनाएको छ ।














