परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि ब्राजिलका राजदूत क्लाउडियो राजा गाबाग्लिया लिन्सबीच सोमबार शिष्टाचार भेटवार्ता भएको छ।भेटमा मन्त्री खनालले नेपाल र ब्राजिलबीचको द्विपक्षीय सम्बन्धलाई आगामी दिनमा थप सुदृढ गर्दै पर्यटन, सांस्कृतिक आदानप्रदान तथा जनस्तरको सम्बन्ध विस्तारमा जोड दिए।
‘नेपाल र ब्राजिलबीच लामो समयदेखि सौहार्दपूर्ण सम्बन्ध रहिआएको छ। आगामी दिनमा पनि यस सम्बन्धलाई थप सुदृढ र परिणाममुखी बनाउँदै लैजान हामी प्रतिबद्ध छौँ, ’ मन्त्री खनालले भने। उनले दुई देशबीच पर्यटन, सांस्कृतिक आदानप्रदान र जनस्तरको सम्बन्ध विस्तारका पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै यी क्षेत्रमा सहकार्यलाई प्राथमिकता दिनुपर्ने बताए।
भेटका क्रममा राजदूत लिन्सले नेपाल आएको छोटो समयमै नेपालको कला, संस्कृति र नेपाली जनताको आत्मीय आतिथ्यबाट आफू प्रभावित भएको बताए। लिन्सले दुग्ध उत्पादनका क्षेत्रमा सहकार्य अघि बढाउन ब्राजिलको प्राविधिक टोली नेपाल आएको जानकारी दिँदै सहकार्यसम्बन्धी समझदारीपत्र नेपाली पक्षबाट पुनरावलोकन गरी केही दिनअघि ब्राजिलियन पक्षलाई जानकारी गराइएको बताए।
त्यस्तै, काठमाडौँ विश्वविद्यालय र ब्राजिलको बुटान्टान इन्स्टिच्युटबीच सर्पदंशविरुद्धको प्रतिविष सम्बन्धी अनुसन्धानमा सहकार्य भइरहेको उनले जानकारी दिए। राजदूत लिन्सले वर्तमान सरकारका प्राथमिकताअनुसार पर्यटन, लगानी तथा निर्यात प्रवर्द्धनका क्षेत्रमा सहकार्य गर्न ब्राजिल तयार रहेको बताए।














