बाढीको जोखिम बढेपछि चीनले स्थगित गर्‍यो उद्धार अभियान

Image

चीन–नेपाल सीमावर्ती तिब्बत क्षेत्रमा पहिरोका कारण बनेको तालबाट थप बाढीको जोखिम बढेपछि चीनले जारी उद्धार अभियान स्थगित गरेको छ।

चिनियाँ राज्य सञ्चालित सञ्चारमाध्यमलाई उद्धृत गर्दै अलजजिराले जनाएअनुसार उद्धारमा खटिएका टोलीलाई घटनास्थलबाट एक किलोमिटर पछाडि हट्न आदेश दिइएको छ। सबै उद्धार टोलीलाई सुरक्षित स्थानमा तयारी अवस्थामा रहँदै थप निर्देशनको प्रतीक्षा गर्न भनिएको छ।

विनाशकारी पहिरो गएको दुई दिन बितिसक्दा पनि तिब्बत क्षेत्रमा सयौँ मानिस अझै बेपत्ता रहेको बताइएको छ।

चीन–नेपाल सीमामा पहिरोपछि थुप्रिएको अत्यधिक माटो, लेदो र भग्नावशेषका कारण ताल बनेको हो। उक्त ताल भरिँदै गएपछि उद्धार टोलीहरू परिचालन भएको क्षेत्रतर्फ पानी बग्न थालेको चिनियाँ सरकारी प्रसारक संस्था सीसीटीभीले जनाएको छ।

गत बुधबार तिब्बतको सीमावर्ती केन्द्र केरुङ क्षेत्रमा माटो र भग्नावशेषसहितको ठूलो पहिरो खसेपछि ताल बनेको थियो। निरन्तर वर्षाका कारण आगामी तीन दिनसम्म तालको जलस्तर अझै बढ्ने र सेप्टेम्बर १ अर्थात् भदौ १६ आसपासमा उच्च बिन्दुमा पुग्ने अनुमान गरिएको छ।

ताल फुट्ने जोखिम बढ्दै जाँदा तल्लो तटीय क्षेत्रमा ठूलो बाढी आउन सक्ने चिन्ता बढेको छ। यसबाट केरुङ बन्दरगाह तथा तल्लो तटीय क्षेत्रका अन्य स्थानमा थप क्षति पुग्न सक्ने सम्भावना रहेको चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ।

स्थितिको सूक्ष्म निगरानीका लागि आपत्कालीन इन्जिनियरिङ टोलीहरू परिचालन गरिएको छ। उद्धारकर्मीहरूले बेपत्ता व्यक्तिहरूको खोजीका लागि ड्रोनमा आधारित थ्रीडी मोडलिङ, थर्मल इमेजिङ प्रविधि तथा प्रत्यक्ष खोजी कार्यसमेत जारी राखेका छन्।

सीसीटीभीका अनुसार शुक्रबारसम्म प्रकोपग्रस्त क्षेत्रबाट ४९९ जना चिनियाँ नागरिक र ५५५ जना विदेशी नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ।