रसुवा बाढी प्रभावित क्षेत्रबाट १२१ विदेशी नागरिकको उद्धार

Image

रसुवाको बाढी प्रभावित क्षेत्रबाट १२१ जना विदेशी नागरिकको उद्धार गरिएको छ।

नेपाल पर्यटन बोर्डका अनुसार बुधबार दिउँसो साढे ३ बजेसम्म बाढी प्रभावित क्षेत्रबाट १२१ जना विदेशी नागरिकको उद्धार गरिएको हो।

उद्धार गरिएकामध्ये सबैभन्दा धेरै भारतीय नागरिक रहेका छन्। बोर्डका अनुसार ८५ जना भारतीय, १६ जना चिनियाँ र ९ जना दक्षिण कोरियाली नागरिकको उद्धार भएको छ।

त्यस्तै, दुई जना अमेरिकी, दुई जना रुसी र दुई जना इटालियन नागरिकको पनि उद्धार गरिएको छ। बुल्गेरिया र स्विट्जरल्यान्डका एक–एक जना नागरिकलाई समेत सुरक्षित स्थानमा ल्याइएको छ।

उद्धार गरिएका विदेशीमध्ये तीन जनाको नागरिकता कुन देशको हो भन्ने खुल्न नसकेको पर्यटन बोर्डले जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा रहेका विदेशी नागरिकको सुरक्षा तथा उद्धारलाई सरकारले प्राथमिकतामा राखेको बोर्डले जनाएको छ। उद्धार तथा खोजी कार्यलाई निरन्तरता दिइएको छ।