भारतीय उद्धार टोली काठमाडौँस्थित भारतीय दूतावासमा आइपुगेको छ। नेपाल सरकारको निर्देशनअनुसार टोली घटनास्थलतर्फ प्रस्थान गर्नेछ।यही भदौ १० गते रसुवास्थित भोटेकोसी नदीमा आएको बाढीमा परेकाहरूको उद्धारमा मद्दत गर्न भारतीय उद्धार टोली नेपाल आएको हो।
भारतले नेपालमा मानवीय सहयोगको तेस्रो खेपसमेत पठाएको छ। १० टनको पछिल्लो खेपमा पोर्टेबल जेनेरेटर, डिग्निटी किट, खाद्य सामग्री र पानी शुद्धीकरण गर्ने ट्याब्लेट छन्।
सोही उडानबाट ११ सदस्यीय चिकित्सक, प्यारामेडिक्स तथा टनेल रेस्क्यु विशेषज्ञको टोलीसमेत नेपाल आएको छ। साथै बाढीबाट क्षतिग्रस्त सडक तथा पुलका कारण अवरुद्ध भएको सम्पर्क पुनःस्थापित गर्न बेलिब्रिज र त्यससँग सम्बन्धित प्राविधिक टोली उपलब्ध गराउने प्रस्ताव गरेको छ।
भारतले यसअघि नै एउटा बेलिब्रिज नेपालमा रहेको र त्यसलाई उद्धार तथा राहतका लागि तत्काल प्रयोग गर्न सकिने जनाएको छ । शव पहिचानका लागिडीएनए परीक्षण तथा फरेन्सिक पहिचानको क्षमता सीमित रहेको भन्दै भारतले विशेषज्ञहरू टोली पनि पठाउँदै छ । विशेषज्ञहरूले मृतकको पहिचान गर्न सहयोग गर्नेछन्, जसबाट शव परिवारलाई छिटो हस्तान्तरण गर्न सहज हुने अपेक्षा गरिएको छ।











