तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर

Image

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा, रुपन्देहीका तत्कालीन प्रमुख मालपोत अधिकृत कुमार आचार्यसहित पाँच जनाविरुद्ध गैरकानुनी लाभ वा हानी गरेको भन्दै आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।

आयोगले मालपोत कार्यालय, भैरहवा, रुपन्देहीका तत्कालीन प्रमुख मालपोत अधिकृत आचार्यसमेत पाँच जनाउपर गैरकानुनी लाभ वा हानि, गलत लिखत एवं सरकारी कागजात सच्च्याइ भ्रष्टाचार गरेकोसम्बन्धी आरोपपत्र दायर गरिएको जनाएको छ ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार तत्कालीन मालपोत अधिकृत आचार्य, तत्कालीन नायब सुब्बाद्वय लक्ष्मणप्रसाद न्यौपाने, अजितकुमार साहनी (चाई), तत्कालीन खरिदार मेघबहादुर भुजेल मगर र जग्गाधनी पर्वतराजकान्त मिश्र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१)को बमोजिमको कसुरमा बिगो रु चार करोड ५३ लाख ४१ हजार ८०० रकम कायम गरी सोही ऐनको  दफा ८ को उपदफा (१) बमोजिम कैद तथा बिगोबमोजिम जरिवाना कायम गरी आरोपपत्र दायर गरिएको हो ।