त्रिशूली–३ ‘ए’ सुरुङभित्रबाट मानिसको आवाज सुनियो

Image

रास्वपा सांसद एवं इन्जिनियर श्रीराम न्यौपानेले त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट आवाज आएको बताएका छन् ।

सुरुदेखि नै उद्धारमा खटिएका न्यौपानले भित्रबाट आवाज आएपछि सुरुङभित्र छिरेर सेना र सशस्त्र प्रहरीले उद्धार कार्यलाई तीव्रता दिएको बताएका छन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘भित्रबाट मानिसको आवाज आएको जानकारी उद्धाररत सेनाबाट प्राप्त भएको छ । नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोली सुरुङभित्र प्रवेश गरी उद्धार कार्यलाई तीव्रता दिइरहेको छ । सुरुङभित्रबाट मानिस बोलेको आवाज सुनिएको जानकारी प्राप्त हुनु आशाजनक संकेत हो ।’

भित्रबाट एकभन्दा बढी व्यक्तिको आवाज सुनिएको पुष्टि भएको पनि उनले जानकारी दिएका छन् । ‘उद्धार टोलीले ‘नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ’ भनेपछि भित्रबाट ‘हुन्छ’ भन्ने प्रतिक्रिया प्राप्त भएको छ,’ न्यौपानले भनेका छन् ।