गृहमन्त्री सुधन गुरुङले केही व्यक्तिहरूले पुरानै कार्यशैली अपनाउन दबाब दिएको देख्ददा अचम्म लागेको बताएका छन् ।
विपद्को समयमा गृहमन्त्रीले नीतिगत कामको सट्टा ‘स्टन्ट’ देखाएको भनी आलोचना भइरहेका बेला गुरुङले नेतृत्वलाई मन्त्रालयको कुर्सीमा बसेर कागजात समात्ने कुरासँग मात्र जोडेर हेर्नु ‘पुरानो युगको सोच’ (Generation Gap) भएको टिप्पणी गरेका छन् ।
बाढीपश्चात उच्चपदस्थ अधिकारीहरूको उपस्थितिमा ‘कमान्ड सेन्टर’ पूर्ण रूपमा सञ्चालनमा रहेको जानकारी दिँदै उनले भनेका छन्, ‘चिन्ता लिनु पर्दैन, हामी अनलाइनबाटै हरेक ४ घण्टामा कमान्ड सञ्चालन र रणनीतिक बैठकहरू गरिरहेका छौँ । टेबल पछाडि बसेर भन्दा डिजिटल माध्यमबाट काम धेरै छिटो र प्रभावकारी भइरहेको छ ।’
वर्षौँदेखि फिल्डको वास्तविक स्थिति नबुझी कुर्सीबाट मात्र नेतृत्व गर्दा देशले सही परिणाम भोग्न नपाएको उनको तर्क छ ।
‘उही पुरानै प्रणालीबाट भिन्न र उत्कृष्ट परिणामको आशा गर्दै केही व्यक्तिहरूले अझै पनि हामीलाई त्यही पुरानै शैली अपनाउन दबाब दिएको देख्दा मलाई अचम्म लाग्छ’ उनले भनेका छन् ।
गुरुङले प्रक्रियाभन्दा पनि नतिजालाई प्राथमिकता दिन आग्रह गर्दै उनी थप्छन्, ‘म कहाँ बसेको छु भनेर चिन्ता गर्नुभन्दा परिणाममा ध्यान दिन अनुरोध गर्दछु ।’













