वैकल्पिक सडकबाट हेटौँडा–काठमाडौँ गाडी सञ्चालनको तयारी

Image

बागमतीप्रदेश सरकारले हेटौँडा–काठमाडौँ आवागमन सहजबनाउन भीमफेदी–कोगटे–ईपा–सिस्नेरी सडकलाई वैकल्पिकमार्गका रूपमा सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढाएको छ।

पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा पहिरोका कारण यातायात प्रभावित भएपछि वैकल्पिक सडकको आवश्यकता बढेसँगै प्रदेश सरकारले उक्त सडकको आवश्यक मर्मत तथा स्तरोन्नति गरी सञ्चालनमा ल्याउने तयारी गरेको हो।

मुख्यमन्त्री किरण थापा मगरले मुख्य राजमार्गमा पटकपटक देखिने अवरोधका कारण हेटौँडा–काठमाडौँ आवतजावत प्रभावित हुने समस्या न्यूनीकरण गर्न वैकल्पिक सडकलाई प्राथमिकतामा राखिएको जानकारी दिए।

मुख्यमन्त्री थापा, भौतिक पूर्वाधार विकासमन्त्री भरतबहादुर केसी, मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहट्ठा र भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदमलामासहितको टोलीले बिहीबार भीमफेदी–कोगटे–ईपा–सिस्नेरी सडकखण्डको स्थलगत निरीक्षण गरेको थियो।

मुख्यमन्त्री थापाकाअनुसार उक्त सडकको मर्मत तथा स्तरोन्नतिका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमै बजेट विनियोजन गरेको छ।  सडकको अवस्था हेरेर तत्काल आवश्यक मर्मतको काम अघि बढाइ सवारी आवागमन योग्यबनाउने प्रदेश सरकारको तयारी रहेको छ।

उक्त सडक सञ्चालनमा आएपछि हेटौँडा–काठमाडौँ आवागमनका लागि थप विकल्प उपलब्ध हुने तथा पृथ्वी राजमार्गलगायतका मुख्य सडक अवरुद्ध भएका बेलायात्रु तथा सवारी साधनलाई वैकल्पिक मार्गबाट गन्तव्यतर्फ पठाउन सहज हुने अपेक्षा गरिएको छ।