इरानको दाबी: ‘दक्षिण कोरियाले हर्मुजमा सेना पठाउने तयारी गरिरहेको छ’

Image

दक्षिण कोरियाली सञ्चारमाध्यमका अनुसार ‘दक्षिण कोरियाले हर्मुज स्ट्रेटमा जलयात्राको स्वतन्त्रतामा सहयोग गर्न उपकरण र सैन्य बल पठाउने तयारी गरिरहेको छ। र, यो मिसन यसै वर्ष सुरु गर्ने योजना बनाएको छ।’

इरानको महत्त्वपूर्ण सैन्य शाखा खातम अल-अन्बिया केन्द्रीय मुख्यालयका आधिकारिक प्रवक्ता इब्राहिम जोल्फाघारीले सामाजिक सञ्जालमा यस विषयमा टिप्पणी गरेका छन्।

उनले लेखेका छन्, ‘दक्षिण कोरियाले अब जलमार्गको स्वतन्त्रतालाई समर्थन गर्न हर्मुज स्ट्रेटमा सेना तैनाथ गर्ने विचार गरिरहेको छ। यसका विकल्पहरूमा समुद्री गस्ती विमान, रसद सहयोगी जहाज वा समुद्री बारुदी सुरुङ पत्ता लगाउने र हटाउने एकाइ समावेश छन्।’

उनले अगाडि लेखेका छन्, ‘यसअघि दक्षिण कोरियाले अमेरिका-इरान युद्ध अन्त्य भएपछि मात्र तैनाथीबारे विचार गर्ने बताएको थियो। तर ट्रम्पले अमेरिकी युद्ध प्रयासलाई समर्थन नगरेको भन्दै दक्षिण कोरियाको आलोचना गरेपछि यो परिवर्तन आएको हो।’

समाचार एजेन्सी रोयटर्सका अनुसार ‘दक्षिण कोरियाली मिडियाले सरकारी र सैन्य स्रोतलाई उद्धृत गर्दै तैनाथीका लागि संसदीय स्वीकृति प्राप्त गर्न आवश्यक कानुनी कदम चालिएको उल्लेख गरेका छन्।’

रिपोर्टअनुसार मन्त्रिपरिषद्‌मा योजनाको समीक्षा गरेपछि दक्षिण कोरिया सरकारले यस महिना संसदीय स्वीकृतिका लागि औपचारिक प्रस्ताव पेस गर्ने योजना बनाएको छ।

दक्षिण कोरियाली सेना तैनाथी गर्ने कुरा हर्मुज स्ट्रेटमा बढिरहेको असुरक्षा र व्यावसायिक जहाजमा आक्रमणबिच आएको हो।

धेरै देशले यस रणनीतिक जलमार्गमा जहाजको सुरक्षाका लागि यस अभियानमा सामेल हुने तरिका खोजिरहेका छन्।

दक्षिण कोरियाका सरकारी अधिकारीले अहिलेसम्म यस रिपोर्टका विषयमा आधिकारिक प्रतिक्रिया दिएका छैनन्।