अविरल वर्षापछि बाजुरामा पहिरो, सात घर–गोठमा क्षति

Image

अविरल वर्षापछि पहिरो खस्दा बाजुराको बडीमालिका नगरपालिकामा सात वटा घर तथा गोठमा क्षति पुगेको छ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार गएराति करिब ८ बजेदेखि परेको अविरल वर्षापछि माथिबाट पहिरो खस्दा बडीमालिका नगरपालिका–८ कोठ्याराका नरे रावल तथा वडा नम्बर ९ का करे थापा र दीपक विकको घरमा क्षति पुगेको हो।

पहिरोले बडीमालिका–९ का मोती ओखेडा, धनबहादुर विक, जंग ओखेडा र तुले लुहारको गोठमा समेत क्षति पुर्‍याएको प्रहरीले जनाएको छ।

पहिरोका कारण घर तथा गोठमा रहेका खाद्यान्न, लत्ताकपडा र पशुचौपायामा क्षति पुगेको प्रहरीले जनाएको छ। अविरल वर्षाका कारण थप पहिरोको जोखिमसमेत रहेकाले स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ।