पुटिन र अमेरिकी दूतबीच तीन घण्टा वार्ता

Image

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूतद्वय स्टिभ विट्कफ र जेरेड कुशनरले मस्कोस्थित क्रेमलिनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग तीन घण्टाभन्दा बढी समय परामर्श गरेका छन् । रुस–युक्रेन युद्ध अन्त्य गर्ने सम्भावित खाकाबारे केन्द्रित बैठक र त्यसका दृश्यले कूटनीतिकवृत्तमा नयाँ तरंग पैदा गरेको छ । 

उक्त बैठक क्रेमलिनको प्रसिद्ध ‘रेड ड्रोइङ रुम’मा आयोजना गरिएको थियो । त्यहाँ कुनै ठूलो र ऐतिहासिक अन्तर्राष्ट्रिय सम्झौतामा हस्ताक्षर गर्दा मात्र विदेशी प्रतिनिधिमण्डललाई लैजाने गरिन्छ ।

बैठकका क्रममा पुटिनको हातमा रातो रङको फोल्डर देखिएको थियो । अमेरिकी दूतद्वयका हातमा बाक्लो कालो रङको फोल्डर देखिएको थियो । रणनीतिक कागजात आदानप्रदान भएको उक्त दृश्यले दुई देशबीच सार्वजनिक नगरिएका केही गोप्य सहमति वा शान्ति प्रस्तावका बुँदामा छलफल भएको बलियो संकेत गर्छ ।

पुटिनका वैदेशिक मामिला सल्लाहकार युरी उसाकोभका अनुसार, अमेरिकी पक्षले युद्ध रोक्ने नयाँ अवधारणा प्रस्तुत गरेका छन् । तर, पुटिनले रुसी सेना रणभूमिमा अगाडि बढिरहेको जिकिर गर्दै युद्ध अन्त्यका निम्ति यसका ‘मूल कारण’लाई सम्बोधन गर्नुपर्ने पुरानै अडान दोहोर्‍याएका छन् ।

युद्धपश्चात् अमेरिका र रुसबीच हुन सक्ने व्यापारिक, आर्थिक र दीर्घकालीन लगानीका ठूला परियोजनाबारे पनि बैठकमा विस्तृत छलफल गरिएको उसाकोभले जानकारी दिएका छन् ।

पुटिनले जटिल परिस्थितिका बाबजुद शान्ति पहल अघि बढाएकामा राष्ट्रपति ट्रम्पको प्रशंसा गरे । साथै, अमेरिकी टोलीको यात्रालाई सुरक्षित बनाउन रुसले किभमाथि तीन दिनका निम्ति सबै प्रकारका क्षेप्यास्त्र तथा ड्रोन हमला रोक्ने आदेश दिएको छ ।

मस्कोमा तीन घण्टाभन्दा लामो छलफल सकिलगत्तै अमेरिकी प्रतिनिधिमण्डल युक्रेनको राजधानी किभतर्फ प्रस्थान गरिसकेको छ । त्यहाँ उनीहरूले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेट गरी मस्कोमा भएका छलफलका विवरण प्रस्तुत गर्ने जनाइएको छ ।