नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला र सभापति गगन थापाबिच आइतबार विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा भेटवार्ता भएको छ। पार्टीभित्रको आन्तरिक विवाद समाधान र पछिल्लो राजनीतिक अवस्थाका बारेमा भएको उक्त भेटमा नेता कोइरालाले पार्टी एकताका लागि आफू कुनै पनि पद त्याग्न तयार रहेको बताएका हुन् ।
भेटका क्रममा डा.कोइरालाले अहिले देश, लोकतन्त्र र राष्ट्रियता सङ्कटपूर्ण अवस्थामा रहेको उल्लेख गर्दै कांग्रेस एक ढिक्का हुनुको विकल्प नरहेको बताए । ‘मलाई कुनै पद चाहिँदैन, तर पार्टी मिल्नुपर्यो,’ कोइरालाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो । डा. कोइरालाले पार्टीलाई एकताबद्ध बनाउन आफ्नो तर्फबाट जस्तोसुकै त्याग गर्न पनि आफू पछि नहट्ने बताए ।
जवाफमा सभापति थापाले आफू पनि पार्टीलाई मिलाएर लैजाने विषयमा अत्यन्तै संवेदनशील रहेको बताए । थापाले सहमतिको वातावरण बनाउनका लागि यही भदौ २४ गतेदेखि तय भएको वडा अधिवेशनको कार्यतालिकालाई आज बस्ने कार्यसम्पादन समितिको बैठकबाट पछि सार्ने पनि बताएका थिए । ‘पार्टीभित्रको आन्तरिक समस्या मिलाउन म संवेदनशील छु, अधिवेशनको तालिका सारेर भए पनि मिलाउने प्रयास गरौँ,’ थापाले भेटमा बताए।
भेटघाटका क्रममा उनीहरूबिच गत भदौ १० गते नेपाल-चीन सिमाना रसुवामा आएको विनाशकारी बाढी र त्यसले रसुवा, नुवाकोट तथा धादिङमा पुर्याएको क्षति र पछिल्लो अवस्थाका बारेमा समेत छलफल भएको थियो । नेता डा.कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले भेटवार्ता सकारात्मक भएको बताए । उनले के के कुरा भयो भन्ने चाहिँ बताएनन् ।














