इन्डोनेसियामा ज्वालामुखी विस्फोट

Image

 इन्डोनेसियाको ‘माउन्ट अनाक क्राकाटोआ’ ज्वालामुखीमा आइतबार शक्तिशाली विस्फोट भएको छ । विस्फोटपछि ज्वालामुखीबाट निस्किएको खरानी र धुवाँको बाक्लो बादल करिब ५० हजार फिट उचाइसम्म पुगेको छ ।

विमानस्थल सञ्चालकका अनुसार, वायुमण्डलमा फैलिएको ज्वालामुखीको खरानीका कारण ५८ अन्तर्राष्ट्रिय उडानसहित कुल ३०१ उडान प्रभावित भएका छन् । हालसम्म विस्फोटबाट मानवीय वा भौतिक क्षति भएको विवरण भने प्राप्त नभएको बताइएको छ ।

ज्वालामुखीको खरानी तीव्र हावासँगै विमानस्थल क्षेत्रसम्म पुगेपछि यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै केही उडान स्थगित तथा रद्द गरिएका छन् । सिंगापुर एयरलाइन्सले जकार्ता आउने र जाने आइतबारका सबै उडान रद्द गरेको छ भने एयरएसियाले आफ्ना केही उडान पुनःनिर्धारण वा रद्द गरेको छ । गरुडा इन्डोनेसियाले पनि यात्रुहरूलाई विमानस्थल जानुअघि आफ्नो उडानको अवस्था जाँच गर्न आग्रह गरेको छ ।

इन्डोनेसियाको राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सीले आसपासका क्षेत्रका बासिन्दालाई बाहिर निस्कँदा मास्क र सुरक्षात्मक चस्मा प्रयोग गर्न सल्लाह दिएको छ ।

अनाक क्राकाटोआ शुक्रबार रातिदेखि निरन्तर विस्फोट भइरहेको बताइएको छ । यो ज्वालामुखी जुलाई २ देखि नै सतर्कताको दोस्रो उच्च तह ‘अलर्ट लेभल–३’ मा रहेको छ । 

यसबाहेक माउन्ट सेमेरु, माउन्ट मेरापी, लेवोटोबी लाकी–लाकी र सिनाबुङ पनि लेभल–३ अलर्टमा छन् । आइतबार माउन्ट सेमेरुमा समेत विस्फोट भएको थियो, जसबाट करिब एक किलोमिटर उचाइसम्म खरानीको गुबार पुगेको थियो ।

प्रारम्भिक अध्ययनअनुसार अनाक क्राकाटोआको पछिल्लो विस्फोटबाट हाल सुनामीको खतरा नरहेको अधिकारीहरूले बताएका छन् ।