युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी विशेष दूत स्टिभ विट्कफ र जारेड कुशनरसँग भएको वार्ता अत्यन्तै सार्थक र महत्वपूर्ण रहेको बताएका छन् ।
आइतबार भएको भेटवार्तापछि पत्रकारहरूसँग कुरा गर्दै जेलेन्स्कीले रुस–युक्रेन द्वन्द्व समाधानका लागि रोकिएको शान्ति वार्ता पुनः सुरु गर्ने विषयमा महत्वपूर्ण छलफल भएको जानकारी दिए । साथै युक्रेनका लागि सुरक्षा तथा आर्थिक प्रत्याभूति र आगामी जाडो मौसमका लागि आवश्यक सहयोगबारे पनि कुराकानी भएको उनले बताए ।
जेलेन्स्कीले युक्रेनले हवाई प्रतिरक्षा तथा ऊर्जा क्षेत्रमा थप सहयोगको अपेक्षा गरेको उल्लेख गरे। साथै अमेरिकी तरलीकृत प्राकृतिक ग्यासको पर्याप्त आपूर्ति र त्यसको उपयोगका सम्भावनाबारे पनि आफूहरूले आशा राखेको उनले बताए।
वार्ताको तेस्रो चरणमा बेलायत, फ्रान्स र जर्मनीसहित केही युरोपेली मुलुकका प्रतिनिधिहरू पनि सहभागी भएका थिए । आगामी दिनमा शान्ति वार्तालाई निरन्तरता दिने उद्देश्यले पुनः बैठक बस्ने सहमति भएको जेलेन्स्कीले जानकारी दिएका छन्
उनले युक्रेन, अमेरिका र रुसबीच रोकिएको त्रिपक्षीय वार्ता पुनः सुरु गर्ने प्रयासलाई पनि अघि बढाइएको बताए। यस्तो वार्ताले द्वन्द्वको शान्तिपूर्ण समाधान खोज्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
अमेरिकी विशेष दूत विट्कफले पनि मस्कोमा भएको वार्ताका क्रममा महत्वपूर्ण प्रगति हासिल भएको बताएका छन् । उनले युक्रेन, अमेरिका र रुसबीचको त्रिपक्षीय वार्ता छिट्टै घोषणा हुने आशा व्यक्त गरे।
विट्कफ र कुशनर आइतबार युक्रेन पुगेका हुन् । युक्रेन भ्रमणअघि उनीहरूले मस्कोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका थिए ।
रुस–युक्रेन द्वन्द्व अन्त्य गर्ने प्रयासस्वरूप युक्रेन, अमेरिका र रुसका प्रतिनिधिमण्डलबीच यसअघि अबुधाबीमा दुई चरण र जेनेभामा एक चरण त्रिपक्षीय वार्ता भएको थियो । तर पछिल्लो समय ती वार्ता रोकिएका छन् ।














