स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशका १२ संघीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कम्तीमा ५० शव अट्ने क्षमताको शवगृह निर्माण गर्ने मन्त्रीस्तरीय नीतिगत निर्णय गरेको छ । विपद्का समयमा ठूलो संख्यामा शव व्यवस्थापन गर्न सक्ने गरी सो निर्णय गरेको हो ।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले विपद्का समयमा शव व्यवस्थापन चुनौतीपूर्ण बनेको अवस्थालाई ध्यानमा राख्दै अस्पतालमा यस्तो पूर्वाधार आवश्यक रहेको बताइन् । विपद् व्यवस्थापन सिकाइका आधारमा भविष्यमा यस्ता समस्या दोहोरिन नदिन अस्पतालमै पर्याप्त क्षमताको शवगृह निर्माण गर्नुपर्ने उनको भनाइ छ ।
मन्त्री मेहताले फरेन्सिक मेडिसिनको महत्त्व बढ्दै गएको तथा मेडिको–लिगलसम्बन्धी कार्यलाई समेत प्रभावकारी बनाउन शवगृहको क्षमता विस्तार अपरिहार्य रहेको बताइन् । यसले शवको सुरक्षित संरक्षण, पहिचान, परीक्षण तथा आवश्यक कानुनी प्रक्रिया व्यवस्थित गर्न सहयोग पुग्ने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, विपद्का समयमा शव व्यवस्थापनको जिम्मेवारी सम्बन्धित अस्पतालले नै गर्नुपर्ने भएकाले आवश्यक क्षमताको शवगृह अनिवार्य रूपमा विकास गर्नुपर्ने देखिएको हो ।
निर्णयअनुसार कोसी अस्पताल, नारायणी अस्पताल, गजेन्द्र नारायण सिंह अस्पताल, भरतपुर अस्पताल, भेरी अस्पताल र डडेलधुरा अस्पतालमा शवगृहको क्षमता विस्तार तथा निर्माणका लागि प्रक्रिया अघि बढाइनेछ । त्यस्तै, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, बीपी कोइराला, पाटन, पोखरा, राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समेत एकपटकमा कम्तीमा ५० शव व्यवस्थापन गर्न सक्ने क्षमताको शवगृह निर्माण तथा क्षमता विस्तार गरिनेछ ।
विपद् पूर्वतयारी र प्रतिकार्य क्षमता सुदृढ गर्दै शव व्यवस्थापनलाई सुरक्षित, व्यवस्थित, मर्यादित तथा वैज्ञानिक बनाउन तथा फरेन्सिक र मेडिको–लिगल सेवा विस्तारमा समेत सहयोग पुर्याउने उद्देश्यले यस्तो पूर्वाधार विकास गर्न लागिएको मन्त्रालयले जनाएको छ ।














