जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले आर्थिक वर्ष २०८२/८३ मा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजार १९२ सवारी चालकलाई कारबाही गरी रु. १ करोड ७२ लाख ५४ हजार ५०४ राजस्व सङ्कलन गरेको छ।
कार्यालयका प्रमुख रमेश विष्टका अनुसार आर्थिक वर्षको पहिलो छ महिनामा सात हजार ३९० र पछिल्लो छ महिनामा १० हजार ८०२ सवारी चालकलाई ट्राफिक नियम उल्लङ्घन गरेको भन्दै कारबाही गरिएको थियो। पछिल्लो छ महिनामा कारबाहीको सङ्ख्या उल्लेख्य रूपमा बढेको हो।
तर ट्राफिक नियम उल्लङ्घन गर्नेलाई कारबाहीको दायरा बढाइए पनि जिल्लामा सवारी दुर्घटनामा अपेक्षित कमी आउन सकेको छैन। आर्थिक वर्ष २०८२/८३ मा मकवानपुरमा ४१४ वटा सवारी दुर्घटना भएका छन्।
कार्यालयको तथ्याङ्कअनुसार ती दुर्घटनामा ६४ जनाको मृत्यु भएको छ भने ११४ जना गम्भीर र ७११ जना सामान्य घाइते भएका छन्। पहिलो छ महिनामा १९७ वटा दुर्घटना हुँदा ३५ जनाको मृत्यु भएको थियो। पछिल्लो छ महिनामा दुर्घटनाको सङ्ख्या बढेर २१७ पुगे पनि मृत्यु हुनेको सङ्ख्या भने घटेर २९ मा झरेको छ।
प्रमुख विष्टले सवारी दुर्घटना नियन्त्रणका लागि कारबाही मात्रै पर्याप्त नहुने बताए। चालक तथा अन्य सडक प्रयोगकर्तामा ट्राफिक नियम पालना गर्ने चेतना र जिम्मेवारी बढाउन आवश्यक रहेको उनको भनाइ छ।
“कारबाही मात्रै गरेर हुँदैन, चेतना पनि हुनुपर्यो,” उनले भने, “दुर्घटना घट्नुपर्ने हो तर घटेको छैन। चालकको लापरबाही पनि दुर्घटनाको प्रमुख कारण हो।”
कार्यालयका अनुसार गत आर्थिक वर्षमा मादक पदार्थ सेवन गरी सवारी चलाउने ७१३ जनालाई कारबाही गरिएको छ। यस्तै, लागूपदार्थ सेवन गरी सवारी चलाएको आरोपमा ४५ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ।
ट्राफिक प्रहरीले नियम उल्लङ्घन गर्ने चालकविरुद्ध कारबाहीसँगै सडक सुरक्षा तथा ट्राफिक नियमसम्बन्धी जनचेतनामूलक कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको जनाएको छ।













