थाइल्यान्डबाट ल्याइएको गाँजासहित तीन जना विदेशी नागरिक काठमाडौंको सोह्रखुट्टेबाट पक्राउ परेका छन्।
लागूऔषध नियन्त्रण ब्युरोको टोलीले आइतबार भियतनामबाट हङकङ हुँदै काठमाडौं आएकी म्यानमारकी नागरिक जिनजिन फ्योलाई पक्राउ गरेको थियो। शंका लागेपछि खोजतलास गर्दै गएको ब्युरोको टोलीले काठमाडौं-१६, सोह्रखुट्टेस्थित होटलबाट उनलाई पक्राउ गरिएको ब्युरोका प्रवक्ता एसपी दुर्गाराज रेग्मीले बताए।
उनले सुटकेसमा ल्याएको तीन किलोग्राम गाँजा पनि बरामद गरिएको थियो। उनीसँग भएको गाँजा लिन होटलमा पुगेका दुई जना भारतीय नागरिक पनि पक्राउ परेका छन्।
एसपी जोशीका अनुसार, पक्राउ पर्नेमा भारतको गोरखपुरका ३० वर्षीय बर्का तुल्लाह र २५ वर्षीय युसुफ खान छन्। उनीहरूबाट थाइल्यान्डबाट ल्याएको गाँजासँगै तीन वटा मोबाइल र तीन वटा राहदानी पनि बरामद गरिएको उनले बताए।
थाइल्यान्डबाट ल्याएको गाँजा भारतमा लगेर बिक्री गर्ने योजना रहेको ब्युरोले जनाएको छ। भारतमा उक्त गाँजाको मुल्य एक रोड २० लाख रहेका ब्युरोको अनुसन्धानमा खुलेको एसपी रेग्मीले जानकारी दिए।














