यमनमा २४ घण्टामा साउदी अरबले ५४ हवाई आक्रमण गरेको हुथीको दाबी

Image

 हुथी विद्रोहीहरूले साउदी अरबले पछिल्लो २४ घण्टामा यमनका विभिन्न क्षेत्रमा ५४ वटा हवाई आक्रमण गरेको दाबी गरेका छन्। रेड सीको तटीय क्षेत्रमा हुथीहरू तीव्र रूपमा अघि बढिरहेका बेला सोमबार उनीहरूको यस्तो दाबी सार्वजनिक भएको हो।

हुथी सैन्य प्रवक्ता याह्या सारीले विज्ञप्ति जारी गर्दै साउदी वायुसेनाले एफ–१५ र टाइफुन लडाकु विमान प्रयोग गरी यमनका विभिन्न क्षेत्रलाई निशाना बनाएको दाबी गरेका छन्।

उनका अनुसार ताइज, लहज, जौफ, मारिब र होदेइदालगायत क्षेत्रमा ती हवाई आक्रमण भएका हुन्। यद्यपि, हुथीले गरेको यो दाबीको स्वतन्त्र पुष्टि हुन सकेको छैन।

यसैबीच, हुथीहरूले सोमबार साउदी अरबका सैन्य अखडालाई लक्षित गरी आफूहरूले पनि मिसाइल तथा ड्रोन आक्रमण गरेको दाबी गरेका छन्।

हुथी समूहका अनुसार पछिल्ला दिनमा उसले रेड सीको तट तथा बाब अल–मन्डेब जलमार्गमाथि आफ्नो नियन्त्रण कायम गरेको छ।

क्षेत्रीय तनाव बढ्दै जाँदा बाब अल–मन्डेबको रणनीतिक महत्त्वसमेत बढेको छ। होर्मुज जलमार्गमा जारी तनावका कारण विश्वव्यापी समुद्री व्यापार प्रभावित भइरहेका बेला रेड सीलाई अदनको खाडीसँग जोड्ने बाब अल–मन्डेब जलमार्ग पनि अन्तर्राष्ट्रिय व्यापार तथा ऊर्जा आपूर्तिका लागि महत्वपूर्ण समुद्री मार्ग मानिन्छ।

यमनमा हुथी र साउदी नेतृत्वको गठबन्धनबीच लामो समयदेखि जारी संघर्ष पछिल्लो घटनाक्रमसँगै थप तनावपूर्ण बन्दै गएको छ।