क्यासिनोमा जुवा खेलाउने ११ जना पक्राउ, १० लाख बरामद

Image

काठमाडौँको बुढानिलकण्ठस्थित गरुड क्यासिनोभित्र गैरकानुनी रूपमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा तास खेलाउने कार्यमा संलग्न ११ जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी प्रभाग बुढानिलकण्ठको संयुक्त टोलीले भदौ २९ गते राति २:०० बजे छापा मारी उनीहरूलाई नियन्त्रणमा लिएको हो।

क्यासिनोभित्र नेपाली नागरिकलाई प्रवेश गराई क्वाइनमार्फत नगद सटही गरेर हारजित हुने गरी जुवा खेलाइरहेको विशेष सूचनाका आधारमा प्रहरीले चेकिङ गरेको थियो। पक्राउ पर्नेहरूमा रामेछापका विकी लामा र आपिश खड्का, सोलुखुम्बुका नुवाङ शेर्पा र पासाङ शेर्पा, सिन्धुलीकी ज्योती मगर, दोलखाका नारायण खत्री, काठमाडौँका दिल लामा, काभ्रेका अशोक लामा, नुवाकोटका सञ्जय तामाङ, ललितपुरका सबिनमान श्रेष्ठ तथा धनकुटाका सुदिप अधिकारी रहेका छन्।

घटनास्थलबाट प्रहरीले मोबाइल ९ थान, रु. १० लाख ८५ हजार ६ सय नगद र नगद सटहीमा प्रयोग हुने विभिन्न दरका क्वाइनहरू (रु. ५० हजारका ८ थान, रु. १० हजारका १९ थान, रु. १ हजारका ८८ थान र रु. १०० का ५ थान) बरामद गरेको छ।

पक्राउ परेका सबैजनामाथि जुवासम्बन्धी कसूरमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट दुई दिनको म्याद थप अनुमति लिई अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।